रुख


   निरा शर्मा :: रुख


सँधै म बाटो हिड्दा
यो रुखले मलाई ताने झैं लाग्थ्यो
नबुझिने उसकै भाषामा
सुटुक्क केही भने झैं लाग्थ्यो
म अलमलिन्थेँ, फर्केर हेर्थेँ
र यादभरि उसलाई बोकेर बाटो लाग्थेँ
देखेर त्यो रुख
झ्याम्म परेको
भन्ज्यांगको ठूलो समीको रुखको
याद आउँथ्यो मलाई
तर थिएन त्यहाँ
थाकेर लखतरान
गह्रुंगो ज्यान बिसाउने
ठूल्ठूला ढुंगाका छपनीले चिठेको
घुमाउने चौतारी मेरो गाउँको
अचानक एकदिन ऊ रोए झैं लाग्यो
लपक्क शीतको आँसु झारेर
म गएँ नजिकै र सुम्सुम्याएँ
झरेर पातहरु खुरिखण्ड थियो ऊ
रुनुको कारण सोधेँ मैले
बिचरा ऊ
पातहरुसँग बिछोडिदाको
पीडा रोएको रे
तर आज लामो समयपछि
फेरि त्यही बाटो हिडेँ
त्यही रुख
फूलहरुको सुन्दर पोसाकमा सजिएर
फूलकै अत्तर मगमगाउँदै
रँग पोतेर जवानीको
मुस्कुराईरहेको देखेँ
र भनेँ मन मनै
हामी मान्छेको जस्तै
दुखमा रुने र सुखमा हाँस्ने
मन हुदो रहेछ रुखहरुको पनि ।

No comments