लघुकथा : प्रश्नहरूको पहाडमुनि

निरा शर्मा ~nira-sharma
घरदेशको मेरो मान्छेसँग म बेखबर भएको पनि धेरै दिन भइसकेको थियो । आज फेसबुक च्याट खोलेको केही बेरमै ऊ टुप्लुक्क आयो । उसको आगमन धेरै दिनको झरी पछि लागेको न्यानो घाम जस्तो आभास भयो मलाई ।

आतुर थिएँ बोल्न । त्यसैले बोलाएँ, ‘हाइ डियर!’

‘हाइ!, म त अझै काममै छु । यो कागज ओच्छ्याएर अक्षरको गिटी कुट्दा कुट्दा थाकेर लखतरान् भैसकें । एकछिन् पर्ख है, साहू गैसके पछि म बोलाउँला नत्र अहिले साहूले देख्यो भने हामी भेट्ने बाटोको यो पुल पनि भत्काइदेला ।’ एकै सासमा लेखेझैं यति लेख्यो उसले । ऊ निक्कै चलेको दैनिक पत्रिकामा थुप्रै जिम्मेवारी निभाउँदै राती अबेर सम्म खट्ने गर्थ्यो । ऊ खुसी थिएन भन्ने उसका सेलाएका चिसा शब्दहरुमा प्रष्टै अनुभव गरिरहेथेँ म । मलाई पुस माघको पारिलो घाममाथि एकाएक बादल मडारिए झैं भयो । चिसो हुने पालो अब मेरो थियो ।

मैले लेखें, ‘हेर, म त झन् यति टाढा परदेशमा छु त्यो पनि एक्लोपनको घनले फलामको गिट्टी कुट्दैछु; एक्लै । तिम्रो याद मात्रको उपस्थिति पनि मेरो थकाइमा स्फुर्ती, ताजगी र उर्जा लिएर आउँछ । त्यसो त तिमीलाई थाहै छ नि तिमीसँगको यहि अनलाइन भेटले पनि ‘रिचार्ज’ गराउँछ मलाई ।सेन्ड मात्र के थिचेको थिएँ ऊ अफलाइन भयो ।

निकैबेर सन्नाटा छायो । चिसोबाट अब म कठ्याङ्ग्रिदै थिएँ । मेरा आँखाहरु च्याट बक्समा नै झुन्डिरहेका थिए । ऊ अनलाइन त आयो तर जवाफ केही आएन । सायद उसको ‘बोस’ थियो अगाडि । केही बेरपछि टुङ्ग घण्टी बज्यो । ऊ यसरी पोखिदै थियो अक्षरहरुमा, ‘तिमी त प्रिय! फलामको गिट्टी कुट्छेऊ र सुनको चिउरा चपाउँछेऊ तर आफू त यहाँ ढुँगाको गिट्टी कुटेर माटोको स्वाद लिँदै माटोमै लडिरहेछु ।’

यथार्थ बोलेको थियो उसले तर यो ‘माटोको स्वाद’ ले मलाई अलि भावुक बनायो । हररर्र माटोको वासना नाकबाट छिरेझैं भान भयो र आँखा सजल भएर आयो । मैले पनि सास रोकेर लेखेँ, ‘तिमी भाग्यमानी हौ । माटोको स्वादमा जीवन बाँच्छौ । आफ्नो पनमा रमाउँछौ र त्यही खुसीमा मुस्कुराउँछौ तर म यहाँ सुनको खोजमा नून चपाउँछु । न माटोको मलिलो वासना छ सुनमा न मेरो आँसुको जत्ति पनि नुनिलो स्वाद छ नूनमा । तैपनि म आफ्नोपन हराएका टर्रा नमिठा मनहरुसँग नुनको सोझो गर्दागर्दै थाक्छु, दिक्क हुन्छु र लुसुक्क बाथरुम छिरेर नुनिलो आँसु बगाउँछु । मन अमिलिन्छ, मुहार धमिलिन्छ अनि अलिकति जोगाएर राखेको मुस्कान पनि हराएर जान्छ । निस्लोट ज्वरोबाट उठेझैं कलेटी पर्छन् ओठहरु । खै त यहाँ सुन कुट्दै, नुन चपाउँदा पनि मेरो खुसीमा कुनै स्वाद छैन तैपनि म मुस्कुराएकै छु ।…….’

मैले लेख्दा लेख्दै ऊ फेरि हरायो । ‘बाई’ नभनेसम्म आस गरेर कुरि बस्ने मेरो बानी नै हो तसर्थ लेखे जतिलाई सेन्ड गरेर कुरिबसें । लामै प्रतिक्षा पछि उसले लेख्यो, ‘व्यग्र प्रतिक्षा छ मलाई त्यो दिनको जुन दिन म फलाम कुटेर सुनको चिउरा चपाउन तिमीसँगै हुनेछु ।’

म निरुत्तर टोलाईरहेकी छु, ‘के यो मुलुक उसले कल्पना गरेजस्तै सुनको चिउरा सजिलै चपाउन सकिने मुलुक हो? के म सुनकै चिउरा चपाईरहेकी छु त? कुनै एक भोली त अवश्य आउनेछ ऊ यहाँ, के त्यसबेला पनि उसमा यो व्यग्रता कायम रहिरहला? घरदेशमा अक्षरको गिटी कुट्दा पनि थाकेर लखतरान् हुने मान्छे, के यहाँ फलामको गिटी कुट्न सक्ला?’

उल्टै मेरो व्यग्रता पो कुन्नि कहाँ हराएछ र म प्रश्नहरूको पहाडमुनि हराउँदैरहेछु । यथार्थमा फर्किंदा उसले आजको लागि विदा मागिसकेको थियो ।

No comments